• जीवनशैली | Jiwanshaili
  • पोखरा अन्तरराष्ट्रिय विमानस्थल: ‘चारदशकअघिको पोखरेलीको सपना एक वर्षमा पूरा हुँदै’


    विसं २०७४ मा विमानस्थलको काम शुरु भएपछि उत्साहित पोखरेलीको सपना छिट्टै विपनामा परिणत गर्न पछिल्लो समय कोरोना व्यवधान बनेर आए पनि त्यसका बाबजुद आयोजनाको काम भने निरन्तर अघि बढेको छ ।

    कोरोना सङ्क्रमणका कारण लागू गरिएको लामो बन्दाबन्दीमा समेत विमानस्थलको काम रोकिने अवस्था आएन तर काममा भने केही असर प¥यो । निर्धारित मितिभन्दा छ महिनाअगावै राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न नभए पनि तोकिएको मितिभित्रमै सम्पन्न गर्ने गरी अहिले धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।

    तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीले विकास समितिको सभापति हुँदादेखि नै विमानस्थल निर्माणमा दिनुभएको विशेष चासो तथा योगदानलाई पोखरेली जनताले सम्झँदैै आएका छन् । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको लामो समयको प्रयाससँगै पोखरेलीको सपनाले सार्थकता पाउन चारदशकभन्दा बढी समय लाग्यो ।

    गत वर्षको अङ्ग्रेजी नयाँ वर्षदेखि नै आयोजनाको काम प्रभावित हुँदा तोकिएको मितिभन्दा छ महिनाअघि नै आयोजना सम्पन्न हुने लक्ष्यमा बाधा उत्पन्न भएपछि अहिले निर्धारित समयभित्रै सक्ने गरी काम भइरहेको पोखरा विमानस्थल आयोजनाका परियोजना प्रबन्धक विनेश मुनकर्मीले बताउनुभयो । करिब रु २२ अर्बको लगानीमा निर्माणाधीन सो विमानस्थलको हालसम्म दुई तिहाइ काम सकिएको छ । आयोजना सम्पन्न हुन एक वर्षभन्दा कम समय बाँकी रहँदा बाँकी ३३ प्रतिशत काम सम्पन्न गर्नुपर्ने चुनौती छ । तर आयोजना प्रमुख मुनकर्मी भने सिभिलतर्फका अधिकांश काम सकिएकाले फिनिसिङका लागि समय नलाग्ने बताउनुहुन्छ ।

    पर्यटकीय नगरका रुपमा परिचित र पश्चिमा पर्यटकको पहिलो रोजाइको गन्तव्य पोखरालाई हवाई सम्पर्कका माध्यमबाट विश्वका अन्य शहरसँग सीधा सम्पर्क कायम गरी थप पर्यटन प्रवद्र्धनका लागि विमानस्थलको सपना देखिएको चार दशकअघि हो । तर यसबीचमा विभिन्न कारणले विमानस्थल बन्न सकेन । विसं २०३२ मैै पोखरामा अन्तरराष्ट्रिय विमानस्थलको सपना देखेर जग्गा अधिग्रहण गर्ने काम शुरु गरिएको थियो ।

    मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि भने विमानस्थल निर्माणले मूर्त रुप लिएर विसं २०७४ मा विमानस्थलको काम शुरु गरियो । लामो समयदेखि विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गर्दै राखिएका अवस्थामा पोखरेली समुदायले निरन्तर यसको निर्माणलाई अघि बढाउन आवाज उठाउँदै आएका थिए । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीले विकास समितिको सभापति हुँदादेखि नै विमानस्थल निर्माणमा दिनुभएको विशेष चासो तथा योगदानलाई पोखरेली जनताले सम्झँदैै आएका छन् । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको लामो समयको प्रयाससँगै पोखरेलीको सपनाले सार्थकता पाउन चार दशकभन्दा बढी समय लाग्यो ।

    सीमा नाकामा रोकिएका आयोजनाका निर्माण सामग्री आउन शुरु भएको तथा विशेषज्ञ कामदारसमेत चीनबाट आउने तयारीमा रहेकाले दुई सिफ्टमा काम गरेर भए पनि कामलाई तीव्रता दिइँदै छ । आयोजनाका विभिन्न भवनमा जडान गरिने उपकरणले आयोजनाको थप २० देखि २५ प्रतिशत भौतिक प्रगति ओगट्ने र जडानमा बढी समय खर्चिनुनपर्ने भएकालेसमेत आयोजना समयमै पूरा हुनेमा आयोजना विश्वस्त छ ।

    आयोजना प्रमुख मुनकर्मीले भन्नुभयो, “विशेषगरी उपकरण जडान र भवनको ‘फिनिसिङ’ को काम बाँकी छ, उपकरण आइसकेको छ, विशेषज्ञ कामदार समेत आउन शुरु गरेकाले अब कामको प्रगतिले तीव्रता लिनेछ, हामी तोकिएको समयभित्रमा सम्पन्न गर्नेछौँ ।” आयोजनाको बाँकी काममध्येमा २० प्रतिशत उपकरण र बाँकी १४ प्रतिशत सिभिलतर्फको रहेको जनाइएको छ । कूल दुई हजार ५०० मिटर लम्बाइको धावनमार्ग, पहुँमार्गसहित टर्मिनल भवनलगायत १४ वटा भवनको संरचना निर्माणको काम सम्पन्न भएर सजावट र अन्तिम रुप दिने काम भइरहेको छ ।

    कामदार र निर्माण उपकरण आइसकेपछि दुवै काम सँगसँगै लैजान सकिने भएकालेसमेत निर्धारित समयमा नै सम्पन्न हुने विश्वास आयोजनाको छ । निर्माण कार्य पूर्णरुपमा सम्पन्न भएपछि पनि उडान सञ्चालनको आवश्यक प्रक्रियाका लागि न्यूनतम छ महिना लाग्ने मुनकर्मीले जानकारी दिनुभयो ।

    आयोजनाले आगामी डिसेम्बरभित्रमा १२१ चिनियाँ कामदार आयोजनास्थलमा आइसक्ने जनाएको छ । करिब १२१ कामदारले प्रवेशाज्ञा आवेदन गरेकामा पहिलो चरणमा ४९ जनाको आवेदन स्वीकृत भएको र बाँकी ७२ जनाको आवेदन स्वीकृतिको प्रक्रियामा छ । “आयोजनाका सामग्री आइरहेका छन्, अब चिनियाँ कामदार समयमै ल्याउन सकेको खण्डमा काम छिटो गतिमा अघि बढ्छ र बाँकी अवधिमा सबै काम सम्पन्न गर्न सकिन्छ”, आयोजना प्रमुख मुनकर्मीको भनाइ छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस