• जीवनशैली | Jiwanshaili
  • नियति चक्रमा घुमिरहेका हामी


    नियति चक्रमा घुमिरहेकी जलेश्वरी श्रेष्ठले बिसाउँनीका रुपमा भावनका यावत परावर्तनलाई उपन्यास मार्फत ल्याउन सफल भईन । कठिन घडिमा आएर सुस्केरा फुकिरहेका बखत विश्रामको अवस्थामा सृजना बनेर दृश्यमा आउने सर्जकका कृतिहरु जतिसुकै आफूलाई छोडेर, आफ्ना भागका व्यञ्जनालाई छोडेर भाँगू भन्दा पनि अँगालिरहने अनौठो सम्बन्ध हुन्छ । जलेश्वरी श्रेष्ठको नियति चक्र आफु र आफ्नाहरुमाथि मडारीरहेको कथा हो ।
    जब भावनाको सम्बन्ध शब्दमा अनुदित हुन्छ र आफ्नो कालखण्डको कथा कहन्छ त्यसले धेरै गुढ रहस्यका बारेमा पर्दा खोल्दछ । सर्वप्रथम आफूलाई कहन्छ, आफ्नो समिपमा भएकाहरुलाई समेट्छ । बिसौनिका रुपमा आउँने सम्झनाका झिल्काहरु बल्ने बित्तिकै सन्तोषको हातेरुमाल थमाएर जान्छन्, त्यही रुमालको हम्काइले केवल, हात वा अनुहार भएपनि पसिना सुकाउँछ र सारा शरीरलाई शान्ति दिन्छ । नियति चक्र कृति जसरी हामी पाठकहरु पनि जीवनको गोलाईमा घुम्दै, पेलिदैँ, बलिइरहेका छौँ र आफैँ र अरुलाई बाल्ने प्रयास गरीरहेका छौँ । ती सफल असफल मोडमा देखिने भोगीने क्षणको सम्झाउँनीका रुपमा उपन्यासले समाजका सुनसान गल्लीदेखि संस्कृतीको चिल्लो राजमार्गमा दौडने नारीपुरुषका कथालाई बिम्बमा ऊनेर बोलेकोछ । उपन्यास नियतिचक्रले पोखरा, बन्दिपुर, लुम्बिनी, नेपालगन्ज, दिल्ली हुँदै काठमाडौँबाट अमेरीकासम्मको भ्रमण गराएकोछ । व्यवसाय, सम्बन्ध, धर्म आस्थालाई जोड्दै समकालिन परिवेशलाई रत्नमान, कृष्णमान, समिरा, शकुन्तला, सुशिल, मञ्जु, रितेश, राजेश, विकास, सुजाता, रमण, ज्योति, दिपक,  पात्रहरु मार्फत पारदर्शी भई बोलेकोछ ।
    हाम्रो नेपाली समाज पुरुषमुखी वा पुरुषप्रधान भएकोले महिला पुरुषविचको समानताको बिषय उठाउँदा धेरै चर्को खाडल देख्न सकिन्छ । कानूनीरुपमा उक्त खाडल क्रमश पुरीदैँ गएपनि व्यवहारीकरुपमा असमानताको जालो बाक्लो भइ बसेकोछ । यही समाजको सदस्य र समकालिन सर्जक भएकाले पनि जलेश्वरीका सृजनामा महिलाका सस्वर बुलन्द भएर आएको देख्न सकिन्छ । उनका सबै कृतिहरु महिला पुरुषको दौडमा को तल को माथि भन्दा पनि समभावमुखी रहेका छन् । महिला पुरुष दुबै जाति आफैँमा बिशिष्ट भएको संकेत उनको छ । र प्रकृतिले दुवैजातको सृजना नै त्यसरी गर्नु भएको छ कि एकआपसमा पारस्परिक नभइ सुखै छैन तर हामीले असमानताका बीउ रोप्नलाई अगल कित्तामा छुट्याएर हेर्न हुँदैन भन्ने राय ऊनको छ । मुख्यतः महिला तथा बालबालिकाका बिषयमा मुखर भएपनि पुरुष र अन्य उमेर र बिषयका समस्यालाई पनि उत्तिकै सम्बोधन गरेकी छिन् ।

    बदलिँदो समयमा पुरातनकालिन बहुपत्नीप्रथा भएको समाज मिथ बनेर आउँछ । जलेश्वरीका पात्रहरु नेपाली समाजको त्यो कालखण्डसँगै हाल चलिरहेको लिभिगं टुगेदरको सम्बन्धशैलीको गन्ध सुगन्धबारे तात्विक अर्थमा बोलेकोले पनि युवा पाठकहरुले सुरुचिपूर्वक कृतिलाई स्विकार गरेका छन् । साथै पुरानो समयका मानिसहरु पनि यस्तै आयो समय, यिनीहरुलाई राम्रै लागेर अँगालेका होलान् भन्ने मानेर अंकुश लगाएका छैनन । स्वतन्त्र जीवनको चाहना अहिलेको पुस्ताको अधिकार झैँ बनेको छ र त्यो स्वतन्त्रताले निम्त्याएका समस्या र राम्रा पक्षहरुको खुलस्त पाउन सकिन्छ ।
    आध्यात्ममा पूर्णतः डुबेकी जलेश्वरी बुद्धधर्मको देशनालाई बैज्ञानिक र समयसापेक्ष शिक्षा मान्दिछिन र समाजसेवा धर्मको पहिलो कर्तव्य ठान्दै क्षमताले भ्याएसम्म सक्दो सहायता आवश्यकतामा परेका सबैलाई गरीरहेकी छिन् । त्यसवाहेक लेखनमा सक्रिय जलेश्वरी अहिले पनि दिँनहु अध्ययनसँगै निरन्तर शब्द साधनामा लागीरहेकी छिन् ।

    वि.सं. २००३ सालमा वटु, काठमाडौँमा जन्मेकी सर्जक जलेश्वरीले पन्ध्र सोह्र वर्षको उमेरदेखि नेपाल भाषामा पहिलो कविता लेखेर सुरुवात गरेकि थिइन् । संख्यात्मकरुपमा एघार ओटा भन्दा धेरै पुस्तकहरु प्रकाशित भइसकेकाछन् । तर कृतिमाथिको शोध र विश्लेषणजनक कृतिहरु पनि नियमित प्रकाशमा आइरहेकाछन् । प्रकाशित सृजनाहरुमध्ये लार्भाका वाफहरु, मौन विद्रोह, म्यारिज एनिभर्सरी, फूल फूलाउने गमला र अनुदीत कृतिहरु पनि रहेका छन् । उपन्यास, कथा, कवितामा प्रमुख रुचि भएपनि बालबालिकाको मनोविज्ञानलाई बुनेर परीको घर, तिसाको जन्मदिन, शान्ताको इच्छा, सुनपरी, जङ्गलको हीही लगायत अन्य थुप्रै सृजनाहरु पस्केकी छिन् ।

    पुरुषले दम्भ देखाउँने संसारी घर देखि जीवनको बीजारोपण हुने पाठेघरसम्मको कथालाई बुझिने भाषामा साधारणसिलतासँगै सहजभावमा जलेश्वरी बहेकी छिन् । नियति चक्रले पहिले प्रकाशित मौन विद्रोहलाई सन्तुलित शैलीमा व्याख्या गरिदीएको छ । जति नै लेखेपनि समाजका कथा थोरै नै हुन्छन् । हामी हामी मिलेर बनेको समाजका पनि हाम्रो स्वभावजसरी फरकफरक पाटाहरु हुन्छन् । एउटी बालिकाको बाल्यकाल, यौवना हुँदै दाम्पत्यजीवनको पावनकालखण्ड र उत्तराद्र्धमा आइपर्ने अत्यास र छुटेको बाटोको सम्झना सायद सबैलाई हुन्छ । जलेश्वरी लेखकका रुपमा मात्र नभइ एक संवेदनसिल महिलाकोरुपमा नबिराइ, नडराई आफ्ना कुराहरु राखेकि छिन् । नियति चक्रमा घुम्ने म र म जस्ता तमाम् पाठकले पाएको आनन्दी पनि यही भन्छ । नेपाली समाजमा प्रखर भएर गुप्तज्ञान ठानेर लत्याएका बिषयमाथि बोल्न सक्ने आँट थोरै व्यक्तिमा हुन्छ । देशको कानून, समाजले मान्दै आएको संस्कृती बाहेकका बिषयहरु जो ओझेलमा छन् तिनीसम्मको पहुँच जलेश्वरीका हरेक कृतिले दिएका छन् ।

    रसिला ओठको लालित्य वर्णनसँग सारमा जीवनको बिट बुद्धको देशनामा आई थामिएको छ । सायद हामी सबैको जीवन lपनि त्यही ज्ञानको छायाँमा जानी नजानी चलिरहेकोछ,
    बुद्धम शरणम् गच्छामि
    धम्मम शरणम् गच्छामि
    सङ्घम शरणम् गच्छामि ।।।

    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस